-
-
-
World Peace Pagoda
धेरै पछि आज शशीश आएको छ । हामी मिल्ने ग्रुपको Bonding Component जस्तै हो उ । उ भयो भने बेग्लै रमाइलो । आज शनिबार पनि ट्रैनिङ भनेर दिनभरी टाउको भारी भयो । अनि ट्रैनिङ पनि interactive नै थिएन । जस्ट टेलिभिजन हेरेको जस्तो मात्र भयो । साँझमा हामी ३ जना- म, शशिश, सन्ध्या दिदी भएर एसो कतै घुम्ने कि भन्दै निस्कीयौ । हामीलाई धेरै घुम्न मन पर्ने, त्यो शिल्शिला शशिशको काठमाडौं प्रस्थान पस्चात् लग्भग ठप्प जस्तै भएको थियो । आज फेरि उस्को आगमन संगै घुम्ने उत्साह् छाएको छ । लेकसाइड नगएको नि धेरै भयो । पोखरामा आउने बिदेसी या स्वदेसी पर्यटकलाई जस्तै पोखरामै बस्नेलाई पनि लेकसाइड असाध्यै मन पर्ने ठाउँ हो । हुन त पोखरा छ नै त्यस्तै । जति घुमे पनि रमाइलो नै लाग्ने, अझै घुमिराखौ, अझै डुलिराखौ लाग्ने । स्वर्ग भन्ने कसैले देखेको छैन तर पनि यदि स्वर्ग थियो, छ र हुन्छ भने त्यो पक्कै पनि पोखरा जस्तै हुन्छ । यो मेरो विश्वाश हो, शायद यो कुरामा धेरै नै सहमत् हुन्छन् जस्तो लाग्छ । सुमन सर, हामि आदरपूर्वक डा. सिंह भन्छौ, उहाँ पनि जानुहुन्थ्यो कि भन्ने कुरा भयो । एक कल गरेर “सुमन् सर लेकसाइड जाऊ न”? भन्ने बित्तिकै हुन्छ “ल तिमिहरु त्यतै बस म आउछु” भन्नुभो । साँझको समय त्यो पनि लेकसाइडमा टहल्ने भनेको निकै नै रमाइलो अनुभब हुन्छ । तालको चिसो बतासले पोखराको दिउसोको उखर्माउलो गर्मीलाई बिर्सायो । चिसो हावा, मन्द बतास अनि त्यसमाथि सबै जना, कति रमाइलो । त्यहा घुम्ने क्रममा तालमा जलकुम्बी झार देखियो । मैले यो फुल त निकै राम्रो हुदोरहेछ भने । शशिशले “पैला मन्छेले त्यहि देखेर ल्याये अनि ऐले येस्ले नै दुख दिराकोछ” भन्दै थियो । तालको छेउमा साना साना टिनका मोटर ढाक्ने गरी राखेका नमुना घर देखेर हामी छक्क पर्यौ । त्यतिका पैसा लिएर चलाऊने यि होटेलवाला नै आँफै फोहोर गर्दै फेवाताल प्रदुषण गर्छन्, देखादेख पानी तान्छन, फोहोर पनि यही फयाक्छन तर पनि यहाँ बोल्ने कोही छैन, रोक्न प्रयास मात्र गर्ने तत्परता समेत कसैले देखाऊदैन कस्तो बिडम्बना! बरु “तालको छेउछऊमा फुल रोपे पनि हुन्थ्यो नि? “यहाँ को पानी तान्न तम्सिनेले केहि राम्रो पनि देखाये हुन्थ्यो” भन्दै हिड्यौ । एकछिन हरियो चौरमा बस्दै डुबिरहेको सन्ध्याकालिन प्रहरलाई अघाउन्जेल् हेर्नमै मस्त रहयौ ।
सुमन सर काठमाडौं जाने दिन पनि नजिकै आइसकेको थियो । सन्ध्या दिदी पनि पोखराको लागि १ हप्ताको पाहुना मात्र हुनुहुन्थ्यो । म चै अब झनै एक्लै भईन्छ भन्दै मन अमिलो पार्दै थिए । मलाई गीतहरुको शब्द सम्झिन आउँदैन, त्यहि पनि, मेरो मानसपटलको पृस्ठभुमिमा चै, “माछापुछ्रे फेवातालमा पौडिखेल्दो रैछ, पोखरा त सच्चिकैको पोख्ररा पो रैछ” भन्ने गीत कता कता गुन्जिरहेको थियो । म त्यो गीतको बोल सुनाउदै “यो गीत अत्यन्तै सुमधुर र मिठासपूर्ण छ है?” भन्दैथिए । सबै जनाले यो गीत सुन्यो भने पोखराको बारेमा बुझ्न मद्घत पुग्छ भन्नुभयो । हामी ‘आज पनि बादलले छेकेको भएर माछापुछ्रेको तालमा हुने पराबर्तन हेर्न पाइएन’ भन्दै थियौ । त्यतिकैमा हाम्रो आँखा साउनको हरियो डाँडाको पृस्ठभुमिमा सुकिलो शान्ति स्तुपमा पुग्न गयो, जस्को चम्किलो सेतो सफा रंग निकै नै मनमोहक देखियेको थियो । करिब् १ घण्टा घुमेपछि जस्तो हामी फर्कियौ । हामि सिद्धार्थचोकमा नै झर्यौ र सुमन सरलाई रमाइलो साथको लागि हार्दिक आत्मियता प्रकट गर्दै ‘आज ढिडो खान जाने’ भन्दै थकाली किचन तिर लाग्यौ । त्यहा निकै भिड थियो त्यहि पनि हाम्रो ढिडो खाने लगाब को अगाडि त्यो भिड बाधक बनेन। रमाइलो सँग ढिडो खाएर फर्कियौ । त्यतिकैमा सन्ध्या दिदिले “शान्ति स्तुपा जाने भन्या जान नै पाइएन” भनेर अघिबाट गुम्सिएको कुरा सुनाउनुभयो, हाम्रो गुरु शशिश पनि के कम उस्लाई हिंड्ने घुम्ने भन्यो भने जाँगर आइहल्छ । उस्ले “ल ल भोलि बिहान नै जाने नि, ५:३० मा नै हिंड्ने र अफिस भेट्ने गरि फर्किने” भन्यो । सन्ध्या दिदीको अनुहारमा एक्कासी अनौठो रौनक आयो, अलि-अलि कौतुहुल्ता भरेको स्वरमा “१० बजे सम्म फर्कन सकिन्छ भने जाउँ न त” भन्नुभयो ।
म २ पटक शान्ति स्तुप गईसक्याछु । मैले चै बिहानको क्लास लिनुपर्ने, हुन त २ वटा मात्रै क्लास हुने थियो त्यो दिन, त्यहि पनि म चै अरु समय खासै पढ्न नभ्याउने भएको भएर पनि होला, खासै क्लास्स मिस गर्न खोज्दिन । मैले त शान्ति स्तुप जादिन भने। मलाई १० बजे आफिस पुगिन्छ भन्ने पनि अलि शंका नै थियो । बिहान-बिहान बर्षाको समयमा हिंड्न पनि ठीक नहोला कि भनेर म चै नजाने भन्नेमा लागिराथे । पोखरा ‘नेपालको चेरापुन्जी’ पानी त अबश्य अधिक पर्ने नै भयो, तर कैले काही हाम्रो हिडाइ र घुमाइमा समेत प्रतिकुल असर पार्छ । सुत्ने बेलामा ‘पानी पर्यो भने त नजाने’ भन्दै अतितको पानाका रमाइला किस्सा सम्झिदै म एक्लै हाँस्दै थिएँ । शशिशले पैला घुम्न जाने भन्दा “पानी परे नजाने पानी नपरे जाने” भन्थ्यो त्यो कुरा सम्झिद मलाई कता कता हासो लागिरको थियो । अरुलाई त यो कुरा सुन्दा रमाइलो नलाग्न पनि सक्छ, हामीलाई त्यो कुरको समग्र प्रसँग थाहा भएको भएर निकै नै रमाइलो लाग्छ । हामी समुहमा धेरै रमाइलो गर्ने, ठटा गर्ने, जिस्किने भाको भएर पनि प्रत्येक पल, प्रत्येक क्षण हाम्रो लागि अबिस्मरणीय छ, हाम्रै शब्दमा भन्नु पर्दा प्रत्येक सेकेन्ड हाम्रो लगि “मिल्लिओन् डलर” भन्दा पनि अझै मुल्यवान छ ।
जाने तिब्र इच्छाशक्ती भएका २ साथीहरुको अगाडि मेरो केहि जोर लागेन । भोलिपल्ट बिहानै सन्ध्या दिदिले “ल जाउँ” भन्दा अलि अल्छी गर्दै उठें अनि तयार भएर निस्कियौं । शशिश पनि समयमा नै आएको रहेछ अनि चिप्लेढुङा पुगेर छोरेपाटन जाने माइक्रो चढयौं । सुमन सर मोर्निङ् वाकबाट फर्किदै हुनुहुदोरहेछ अनि आएर “कता हिड्या?” भन्नुभो । हामीले वहाँलाई पनि जाम भन्यौं । “म जाँदिन, तिमिहरु गएर आउ” भन्नुभो । बसमा पैसा दिने क्रममा नै होला शायद त्यो दिनको खराब सुरुवात भएको, पैसा उठाउने भाइलाई १०० को नोट दिएको खै “चानचुन दिनु” भन्दै किचकिच गरिरथ्यो । अनि म “चान्चु्न् भये त तिमीले भनिरहन नै पर्दैन्थ्यो म आँफै दिन्थे” भन्दैथिये। खै त्यहि पनि उ बिहान बिहान हामीसँग रिसाइराको थियो । पछि पैसा फिर्ता दियो अनि हामी गाडीबाट झर्यौं । “बाटोमा पानी चाहिन्छ है” भन्दै १ बोटल पानी किनेर लाग्यौं उकालो, शान्ति स्तुप पुग्नलाई । मेरो यो तेस्रो भ्रमण, शशिशको त शायद यती नै भन्नेमा उस्लाई नै अन्यौल् छ होला । केही बेरमा नै उकालो कत्यौ । स्तुपको गेट छिर्ने बेलामा “यो शान्ति स्तुपमा केहि बोल्नु हुदैन बोल्यो भने यहाँको शान्ति भंग हुन्छ” भन्दै म सन्ध्या दिदिसँग जिस्किराको थिएँ, अनि शशिशलाई पनि ‘हो’ मा ‘हो’ मिलाउँन ईशारा गरिराथे । त्यतिकैमा एउटा सानो बिरालोले हाम्रो बाटो काट्यो । हाम्रो समाजमा ‘बिरालोले बाटो काट्यो भने नराम्रो हुन्छ’ भन्ने उखान मैले पनि सुन्याछु । तर मेरो सन्दर्भमा भने ठ्याकै उल्टो भएको छ। मलाई चै झनै राम्रो भएको थियो, एक पटक १२ क्लासको कम्प्युटर साइन्सको फाइनल परीक्षाको दिनमा मेरो बाटो बिरालोले काटेको थियो तर मेरो त्यो बिषयमा नै सबै भन्दा राम्रो अंक आएको थियो । त्यो सम्झिदै ढुक्क हुने प्रयास गर्दै सिढि चढे । माथि उक्लिने क्रम्मा नै एउटा सानो बिरालो कुकुरसँग निकै नै रमाइलो पाराले लुकामारी खेलिराको थियो । त्यो बिरालो र कुकुरको लुकामारी, “एक् अर्कालाई सत्रु को दृष्टि राख्ने” भन्ने बिश्वास गरिएका २ जिब बिचको अनौठो माया अनि अत्मियता देखेर हामी ३ जना नै दंग पर्यौ । “साच्चै, ‘मिलेरै बस्नुपर्छ’ भन्नेको एक् अद्वुत नमुना नै देख्या हो कि?” हामीले बिश्व शान्ति स्तुपमा आएर भन्ने कता कता भान भयो र रमाइलो पनि लाग्यो । प्रकृतिले नै शत्रुता दिएका यी २ जीबबिचको अनौठो सम्बन्धको चर्चा परिचर्चा गर्दै माथि पुग्यौ । हिमालको दृश्य हेर्ने हाम्रो इच्छा अधुरो नै रहयो, हिमाललाई बादलको एक सप्कोले ढाकेको थियो । केही गरी बादलको पछ्यौरि हावाले उडाउला र हेर्न पाइएला कि भन्ने आशा पनि आशा मात्रै भयो । “नयाँ लगाएको बारले सबै छेक्यो, केहि देखिएन” भन्दै एक फन्को मार्यौ । करिब ८ बजे तिर ‘अब हिंड्नुपर्छ, अफिस नि पुग्नुपर्छ’ भन्दै हामी झर्न थाल्यौं ।
शान्ति स्तुप छोड्ने बित्तिकैको चिया पसलमा चिया र कफी मिठो मान्दै पिएपछी हामी फर्किने तरखरमा “कुन बाटो जाने?” भन्ने छलफल गर्न लाग्यौ । जाँदा नै छोरेपाटनको बाटो गएको भएर “अर्को बाटो जाने कि?” भन्ने कुरा भयो । सिमित समयमा अफिस पुग्नुपर्ने भएको भएर लेकसाइडबाट गयो भने बोटिङ् मा नै लग्भग १ घन्टा जान्छ भन्ने सोचले नयाँ बाटो जाने भन्यौ । “ल, ड्यम्सायीडको बाटो लाग्ने” भनेर हिड्यौ । बिस्तारै ओरालो बाटो शुरु भयो । म उकालो चढ्ने बेलामा हिंड्न नसकेर पछि-पछि बस्ने भए पनि ओरालो देखेपछि उत्साहित हुँदै अगाडि बढे । अनि शशिशले मलाई “ल है ओरालो-गुरु, भयो शुरु” भन्दै थियो । सन्ध्या दिदिले “बाटो असाध्यै चिप्लो रहेछ फर्किने की?” भन्दा शशिश र म चै “आयो कि आयो, फर्किने त कुरा नै छैन” भन्दै अघी बढ्यौ । म मस्त आफ्नै सुरमा अगाडि बढ्दै थिएँ । त्यतिकैमा छिर्केमिर्के अलिअलि कालो र रातो मिक्स् भएको सर्प जस्तो केहि देखेर म झसङ्ग भएँ । एसो घोरीएर हेर्छु, टाउको अर्कै छ, सर्प जस्तो पनि छैन, अनि अझै नजिकबाट हेरे, अनि अलि ध्यान दिएर हेर्दा “भ्यागुतो खाँदै गर्या पो सर्प नै हो कि?” जस्तो लाग्यो । सर्प नै हो भन्नेमा बिश्वस्त भएपछी म डराएँ र अत्तलिन्दै चिच्यौन थाले । शशिश “आज हाम्रो बेस्सरी साइत परेको रहेछ, नभये कहाँ यसरी भयगुतो चपौदै गरेको सर्प हेर्न पाइन्थ्यो र?” भन्दै थियो । हाम्रो सबै जसो यात्राहरुमा राम्रो क्यामेराको अभाब खड्किन्थ्यो, यो पाली त झनै क्यामेरा नै थिएन । हाम्रो यो यात्रा अलि बिना कुनै पूर्वतयारीको भएर पनि क्यामेराको ब्यबस्था गरिएको थिएन । शशिशसँग भएको नयाँ मोबाईल झट्ट हेर्दा “क्यामेरा पो हो कि?” जस्तो देखिछ र तस्बिरको गुणस्तर पनि राम्रो छ । उसले मोबाईलबाट ‘भ्यागुतो चपाउदै गरेको सर्प’ को फोटो खिच्यो अनि हामी बिस्तारै ओरलो झर्यौ ।
हिंड्ने क्रममा मेरा आँखाले फेरि अर्को अनौठो दृश्य देखे । एउटा रुखमा पात नै थिएन, त्यसको आकार प्रकार देख्दा कुनै ठुलो लामो सर्प जस्तै देखिने थियो । लामो रुख, सर्प जस्ता देखिने हांगाहरुले अरु वरपरका करिब १०-१२ वटा अग्ला अग्ला रुखलाई बेरिराखेको, धेरै उचाइमा भएका रुखलाई समेत बाँधेर, जकडेर, आफुतिर तानिराखेको थियो । दन्त्य कथामा बर्णन भएको जस्तो रुख देखेर हामीले अचम्म मान्यौ । “अचम्म भयो, कस्तो खाल्को रुख रहेछ” भन्दै हेर्यौ । पहिला सर्प, पछी झन्डै सर्पकै आकार प्रकार भएको, तर निकै ठुलो र लामो, अरु रुखहरुलाई आफ्नो शक्तिको भरमा तानेर, जेलेर, अकडेर राखेको त्यो बस्तु देखेपछी चै मलाई अगाडि जानलाई निकै नै हिच्किचाहट पैदा भयो र म बिस्तारै पछाडि बस्न थाले । हामी आजको ट्रिप्लाई {‘सर्प स्पेसिअल्’} भन्नुपर्यो भन्दै तल झर्न थाल्यौं । त्यो दिनको मुख्य घटना भन्दा हामी केहि पलको दुरिमा थियौ भन्ने कुरा हामी ३ मध्ये कसैलाई पनि थाहा थिएन हिंड्ने क्रम जारी थियो । सुन्सान जंगलको बाटो, साउनको हरियो जङल, मिल्ने तीन साथीहरु एक साथ्, तर मलाई चै मन देखि नै “शायद अब यसरी फेरि हिंड्ने कैले होला?” भन्ने लागिराको थियो । हाम्रो साथीहरु सबै जना उच्च शिक्षा हासिल गर्न बिदेश जाने क्रम अझै जारी छ, त्यो संगै नेपाल बस्नेहरु अब रचना र म मात्रै बाँकी छौ । घुम्ने, हिंड्ने, रमाइलो गर्ने, मस्ति गर्ने, त्यो कुरालाई नेतृत्व गर्ने, सुजाता दिदि, शशिश र श्री कुमार दाईको अभाव जहिले खड्किन्छ र खड्किनेछ । हाल नेपालमा नै भएर पनि यो यात्रामा हामीसँग नभएका रचना, गोविन्द दाई र सचेस दाईलाई निकै नै मिस गर्यौ । तर हामी साथीहरु जहाँ जुनै हालतमा जसरी भए पनि हामी एक-अर्कालाई माया, सद्भभाव र ख्याल गर्छौ त्यस्मा चै कुनै शंका छैन र हुनुपनि हुदैन । त्यत्तिकै मलाई खुट्टामा केहि “चिल्लो-चिप्लो” कुरा महसुस् भयो, एसो हेर्छु त “जुका” । मलाई जुकासँग निकै नै डर लाग्छ । मैले “लौ न नि, यो जंगलमा त जुका पो रहेछ” भने र अत्त्तलिन थाले । शशिशले “रोकिन थाल्यो भने झन् धेरैले टोक्छ, केहि पिर नगरि फटाफट हिड” भन्यो । मलाई खुत्त्तमा कस्तो सकसक लागिरअको थियो, प्रत्यक दुई चार पाइलामा नै रोकिदै, हेर्दै हिडिरको थिए । “ल है, अब १०-१० मेनेटमा {JCB} राख्न पर्छ” मैले भने। अनि सथिहरुले “के हो JCB भन्या?” भन्दै थिये । मैले “जुका चेकिङ् ब्रेअक्” भने । हिड्दा-हिड्दै थकाई लाग्न थाल्यो, हिंडाइले भन्दा पनि जुकाले टोकेर हैरान परियो । त्यतिकैमा एक जना बिदेसी पर्यटक नमस्ते भन्दै उकालो चढिन् । हामीलाई {“How far is peace pagoda from here?”} भनेर सोधिन् । मैले {“It’s just 10 minutes away from here”} भने । धन्यवाद ब्यक्त गर्दै उनी उकालो लागिन, मैले “सर्प पनि देख्छ होला है!” भने । “सर्प देख्यो भने त उस्को भाग्य लाग्छ नि” भन्दै थिए साथीहरु । फोटो लगेर के के मात्रै गर्ला भन्दै ओरालो झर्न लाग्यौ ।
हामी जुका आतंकले दिक्क परिसकेका थियौ त्यतिकैमा बाटो तीन तिर लाग्यो । एउटा अलिकति उकालो, अर्को सम्मो, अर्को ओरालो, शायद थकाइ लागेकोले पनि होला हामी ओरालो बाटो रोजेर झर्यौ । तेतिकैमा शशिशले खै “‘लेफ्ट्’ बाटो हिंडेर पुगिने हो कि हैन?” भन्दै थियो। जुका बर्सिन थालेको थियो, प्रत्येक पाइलामा करीब ५ वा ७ वटा थपिन्थ्यो खुट्टामा, जुकाको पिडा र आतन्कित पर्ने आक्रमण असह्य भयो । हामीसँग केहि उपाय पनि त थिएन । अब अन्तिम उपायको रुपमा हामी त्यो चिप्लो बाटो भएको, घना जंगलको ओरालोमा समेत जुकाको पिडा सहन नसकि कुद्न थाल्यौ । दगुर्दा-दगुर्दा थकाइ लाग्यो अलि तल नै पुगिसक्यौ । तल ताल पनि देखिन थाल्यो । तर “कहानीमा टुइस्ट” भने जस्तै, त्यो बाटो त त्यहाँ नै सक्यो । यता जाने, उता जाने कतै जाने ठाउँ नै छैन, तालमा हाम फालेर भएन, “लौ अब के गर्ने परेन अब फसाद” । त्यतिकैमा म लडे, ‘ऐया’ भन्दै उठे, लडेर लुगा भरि हरियो लेउ लाग्यो । पसिना पसिना भएर पहिला नै मैला देखिन थालेको लुगा लेउमा पछारेपछी मेरो त दुर्गति नै भयो । अब जङलमा हराएको छ, लुगा फोहोर छ, आफिस पनि पुग्नुछ, खाना अर्डर गरेको थियो, त्यहा पनि ‘अहिले सम्म आएनन’ भन्नु भएको छ, त्यहा पनि केही भनेको छैन । दिमागमा एकपछि अर्को गर्दै याबत् प्रश्न तातीको रुपमा आउन थाले । म लडेलगत्तै शशिश पनि लड्यो । त्यो गन्तब्यहिन बाटो तेतिकैमा सकेपछि हामी फर्किन थाल्यौं, अलि तेर्सो उकालो लाग्न थाल्यौं । एक छिन हिड्यौं । जुकाले टोक्ने क्रम जारि नै छ । यता सुल्ल, उता सुल्ल । टोक्ने, रगत खाने, दुखाउने, झर्ने, फेरी अरु जुका तांति चढ्ने अनि फेरी हामीलाई यातनाको प्रकृया पुर्यएर बिस्तारै झर्ने क्रम जारी छ । यस्तो लाग्थ्यो कि ‘कहिलै कोहि नआउने जंगलमा झुक्किएर आएका यि मानवहरुलै आज हामीले सखाप पार्नुपर्छ’ भनेर नै जुकाहरु तम्सिरहेका छन् । उनिहरुलाई त ‘ठुलो भोज खाएको जस्तो’ लागिरहेको थियो होला तर हामीलाई कति दुख्यो भन्ने कुरा हामीलाई नै थाहा होला । कुनै दन्त्य कथामा “जङल्मा राजकुमारलाई किराफट्यङ्रा, बिशालु सर्पले टोकी ” भन्ने काहानीमा सुनेको भए पनि अहिले सम्म यसरी हिंडेर जंगलमा जुकाले टोकेको थिएन, जुका पनि एउटा हैन, २ वटा हैन, जुकाको ताति छ, खानि छ, पाइला पाइलामा जुका छ, त्यस्को टोकाइ, सम्झिन्दा नि जिउ नै जिरिङ हुन्छ । असंख्य जुकालाई सक्भर छिटो पार गर्न हामि लालायित थियौ तेसैले हामी कुद्न थाल्यौ । धेरै नै बेर हिड्यौ । छिन्छिनमा पातले, नसकेपछि हातले, अनि त्यस्ले पनि नभएपछि रुखको हागाले जुका निकाल्दै, फाल्दै, फेरि थप जुकाको प्रहार्, टोकाइ र पिडा सहदै अगाडि बढ्यौ । धेरै हिडिसक्यौ त्यो पनि साधारण हिडाइ हैन, म पनि कुदेको छु, साथीहरु पनि दगुरेका छन्, थकाई लगेको छ तर बस्नु पनि नहुने, बसे अझै थप जुकाले टोक्ने, हिडौ अब हिंड्ने हुर्मत् नै छैन । यो निम्छरो जिउले पनि के मात्रै गरोस्, हिडाइ खपोस् कि?, जुकाको पिडा खपोस् कि?, थकाई खपोस् कि? त्यतिकैमा मलाई असह्यय टाउको दुख्न थाल्यो, चक्कर् आको जस्तो लाग्यो । “आराम गर्ने कि?” भन्ने थाले साथीहरु । तर जुकाको टोकाइ अनि त्यो थप दुखाइ भन्दा त बरु टाउको दुखेको नै खप्न सकिन्छ भनेर हामी बिस्तारै हिड्यौ । त्यतिकैमा ढ्याम्म्म आवाज आयो, सन्ध्या दिदि चिप्लेर लड्नुभयेछ । हामी हास्यौ, मैले भने “ल हजुरको नि पालो पुग्यो” अनि बिस्तारै हिड्यौ । त्यस्पछी पनि करिब् २० मिनेट जति हिडेपछि आशाको किरण अलि मज्बुत बन्दै आयो । खेत देखिन थाल्यो, एउटा सानो मन्दिर पनि । हामीलाई “अब हराइएन, आइपुग्यो” भन्ने लाग्यो । बिस्तारै झर्यौ साँचै मन्दिर रहेछ, हामीले ‘ल आज भगवानले जोगायो हामीलाई’ भन्दै हात खुट्टा धुन लाग्यौ, सबैजना पसिनाले भिजेर थकित देखिन्थे, खुट्टा रक्त्ताम्मे थिए । यस्तो लाग्थ्यो कुनै ठुलो झगडामा चोटपटक लागेर पो आको हो कि? तर त्यहा आइपुग्दाको त्यो उमङ, त्यो आभाश, त्यो आनन्द हामीलाई मात्र थाहा छ । हामी त्यो अनकन्टार जंगलमा झन्डै ३० मिनटमा नै आइपुग्नुपर्ने बाटोमा लग्भग २ घण्टा जस्तो हराएको थियौ । घना जंगलमा मात्र ३ जना, त्यो पनि बाटो बिराएर, यता गएर, उता गएर कुनै थप जाने ठाउँ नदेखेर फर्केर, जुकाको टोकाइले पीडित, बिहान बिहानको हिडाइ बाट थकित्, समयम नै अफिस् पुग्नुपर्ने बाध्यताले चिन्तित । हाम्रो अबस्था साँचै नै दयनिय थियो । रमाइला / नरमाइला, मिठा / तिता पाटाहरु त हुन्छन नै हरेक् यात्राका । त्यो ट्रीप साहसिक थियो ।“मान्छेहरु {adventure trip} को लागि हजारौ लाखौं पैसा तिर्छन्, हामी भने त्यतिकै यस्तो adventure फील गर्न पाइयो” भन्दै हामी बिस्तारै लाग्यौ । अफीसमा फोन गरि “एक छिन् ढिला हुन्छ” भन्यौ । मनमा जङल को दृश्य, हराउँदाको क्षण, अनि जुकाको टोकाइ बाहेक अरु केहि कुरा आएकै छैन । “आज साँचै नै बाल् बाल् बचियो…त्यस्तो जङलमा जे पनि त हुन सक्थ्यो”। “सुमन् सर आउनुभाको भए त उहालाई नि निकै दुख हुने रहेछ, ठिकै भो” भन्दै थियौ हामी । झोलुङे पुल तरेर ड्याम्साडइ बजारमा आएपछी हामी बस चढ्यौ । सन्ध्या दिदिको खुट्टामा त अझै २ वटा जुका रहेछ, बसमा समेत जुका निस्कियो । हामी २ जना मुसुमुसु हाँस्दै बस्यौ । कोठा गएर, अली फ्रेश बनेर अफिस आयौ त्यो यात्रा त्यहि सकियो । एउटा अलग, साहसिक घटनाले भरिपूर्ण सानो यात्रा ।
यो यात्राले पनि सिकाएको छ केहि कुरा हामीलाई । जति सजिलो गलत बाटोमा जान हुदोरहेछ, त्यो भन्दा धेरै गार्हो सहि बाटोमा फर्किन । गलत बाटो जाने निर्णय गर्न हामीलाई शायद १५ सेकेन्ड लाग्यो होला तर त्यो गलत कदम सच्याउन हामीलाई लग्भग 1.5 घण्टा लाग्यो । त्यसैले गल्ती गर्न सजिलो छ तर समाधान निकल्न गारो छ । हामी आफ्नो जीवनको सानो देखि सानो निर्णय गर्न मात्र पनि चुक्यौ भने बिशालु सर्प देखिनेछन्, रगत चुस्ने जुका भेटिनेछन । त्यसैले केहि गर्नुपूर्व अलि सोचविचार पुर्याएर मात्र गर्नुपर्दोरहेछ । अलिकति गार्हो हुन्छ उकालो चढ्न भनेर ओरलो लाग्नाले हामी जसरी जंगलमा हरायौ त्यसरी कोही कतै हराउन नपरोस् । तर एती सबैका बाब्जुद, खुसिको कुरा के हो भने मान्छेहरुले गल्ति बाट नै सिक्ने हो । त्यो बाटो जाने हाम्रो गल्ति हैन कि गलत् निर्णय हो, त्यस्को मुल्य केहि हद्सम्म हामिले चुकायौ पनि । तर पनि हामीले केहि सिक्यौ जिन्दगी भरी नभुल्ने गरी । मिल्ने साथीहरुको साथ भयो भने जस्तो सुकै दुख र अप्ठ्यारा पनि पार गर्न सकिदो रहेछ भन्ने कुरा पनि प्रमाणित भयो । समग्रमा यो यात्राका अनुभब सधैं स्मीर्तिको प्रीस्ठभुमिमा ताजा रहनेछ एउटा मिठो याद, अमिट सम्झनाका तरेली बिचको एउटा बेग्लै आभास बनेर, एउटा फरक अनुभुती बनेर।।।